Tuesday, December 23, 2008

भन्सारभित्र मूल्य घटाउने खेल

कर्मचारीको मिलेमतोमा व्यापारीहरूले भन्सार परिसरभित्रै नक्कली स्टिकर टाँसेर र सामानको परिमाण घटाएर खुल्लमखुल्ला तस्करी गरिरहेका छन्। भैरहवाबाट मुकेश पोखरेल को खोज



बेलहिया भन्सारबाट ना३ख ४५३९ नं. को ट्रकमा
बेलहिया, भैरहवा भन्सार कार्यालय परिसरबाट हुने तस्करीको रिपोर्टिङ गर्न लगातार धाएको हिमाल सम्वाददाताले ५ मङ्सिर २०६५ मा एउटा त्यस्तो घटनाको प्रत्यक्ष अवलोकन गर्न र तस्बिर खिच्न पायो जसमा भन्सारभित्रै तस्करीको संसार भएको देखिन्थ्यो। त्यस दिन दिउँसो तीन बजे कार्यालयको दक्षिणपट्टि सामान मूल्याङ्कन हुने ठाउँमा भन्सार कार्यालयका कर्मचारीकै अगाडि तीनजना व्यक्तिहरू बुटबलका होलसेल व्यापारी मुकेश अग्रवालले भारतको दिल्लीबाट ल्याएका स्वीस, लायन नामका विभिन्न मोटरसाइकल पार्टस्मा टाँसिएको एमआरपी (अधिकतम बिक्री मूल्य) स्टिकर ब्लेडले कोतरेर उप्काउँदै थिए (हे. तस्बिर)। वास्तविक एमआरपी स्टिकरमा अङ्कित मूल्य अनुसार रु.२ लाख ५० हजार मूल्याङ्कन हुनुपर्ने ती सामानको अग्रवालले ६० हजार भन्सार तिर्नुपर्ने थियो, तर स्टिकर हटाएर रु.१ लाख मात्र मूल्याङ्कन गराई २५ हजार तिरेर उम्किए।

काठमाडौं लैजान खोजिएको टायलको प्रज्ञापनपत्र

रकम थोरै देखिए पनि भन्सार हाताभित्र हुने राजस्व चोरीको यो उदाहरणले तस्करीका लागि कुनै अनधिकृत बाटो नचाहिने रहेछ, कर्मचारीको मिलेमतो भए आधिकारिक बाटोबाटै खुल्लमखुल्ला गर्न सकिँदो रहेछ भन्ने देखाएको छ। व्यापारीहरूको भनाइमा भारतको बाटो भएर भारत वा तेस्रो मुलुकबाट आयात हुने उच्च मूल्यका वस्तुहरूलाई न्यून मूल्य र स्थानीय कम्पनीको देखाउन भन्सार हाताभित्र यस्तो गरिन्छ। बुटबलकै मोटरसाइकल पार्टस्का एक होलसेल बिक्रेता बट्टामा उल्लेख भएको वास्तविक मूल्य अनुसारको भन्सार दस्तुर महँगो हुने भएकोले कम राजस्व तिर्नका लागि यस्तो काम गरिने बताउँछन्। “भन्सारकै हातामा बसेर यस्तो काम गर्न पाएपछि सामान समातिने जोखिम नै नरहने भएको छ”, उनको भनाइ छ। आफ्नो सुरक्षाका लागि नाम खुलाउन नचाहेका यी व्यापारी आफूले पनि त्यसैगरी भारतीय बजारबाट मोटरपार्टस् ल्याउने गरेको स्वीकार्छन्।
यस्तो चोरी-तस्करीलाई सामान्य मान्ने भन्सार एजेण्ट संघका अध्यक्ष शान्तकुमार शर्मा यो पहिलेदेखि नै हुँदै आएको बताउँछन्। यसनिम्ति व्यापारीले भन्सार कार्यालयका कर्मचारीलाई बक्सिस् दिनुपर्छ।
हुनपनि गएको १२ मङ्सिरमा राजस्व अनुसन्धान विभागले बुटबलमा सरोकारवालाहरू बीच आयोजना गरेको एउटा अन्तरक्रिया कार्यक्रममा व्यापारीहरूले सामान आयात गर्ने क्रममा भन्सार कार्यालयका कर्मचारीसँग लाइन मिलाउन घुस दिनुपरेको हाकाहाकी सुनाएको प्रसङ्गले माथिको कुरा पत्याउन कर लाग्छ।
लक्ष्यमा असर आर्थिक वर्ष २०६१/०६२ यता भैरहवा भन्सार कार्यालयबाट लक्ष्य अनुसारको राजस्व उठ्न सकेको छैन। (हे.टेबुल) लगातार तीन-तीन वर्षदेखि लक्ष्यभन्दा कम राजस्व असुलेको बेलहिया भन्सारको असूली चालु वर्षको कात्तिकसम्म पनि कमै छ। भन्सार अधिकृतहरू खुला सिमानाको चोरबाटोबाट हुने तस्करीका कारण राजस्व सङ्कलन प्रभावित हुने गरेको दाबी गर्छन्। तर भन्सार हाताभित्रै हुने यस्ता चलखेलले प्रशासनको यस्तो दाबी प्रचारबाजी मात्र भएको देखाउँछन्। चोरबाटोबाट हुने स-साना पटके तस्करहरूलाई पक्रेर पानी-माथिको भानो बन्न खोजे पनि आधिकारिक बाटोबाट हुने यस्ता तस्करीबारे भन्सार प्रशासन मौन छ।

५ मङ्सिरमा च्यातिएको भन्सार हाता भएर आएका थुप्रै गाडीमा तिरिएको राजस्व भन्दा बढी वस्तु भेटिएका प्रमाण थुप्रै छन्। २४ कात्तिक २०६५ मा भन्सार कार्यालय भएर भित्र्याइएको टायल लिएर काठमाडौं जाँदै गरेकोे ना३ख ४५३९ नम्बरको ट्रक भैरहवास्थित नेपाल राष्ट्र ब्याङ्क अगाडि पक्राउ परेपछि प्रज्ञापनपत्रमा उल्लिखित भन्दा २९८ पेटी बढी टायल भेटियो। खिचापोखरीको विक्रान्त रोडवेजमार्फत ल्याइएका ती टायल काठमाडौंका सलसार विजनेश (पान-व्यक्तिगत खाता नम्बर ३०१९३७२), अजरअमर ट्रेडर्स (पान नं. ३०२७३७) र राहुल इन्टरप्राइजेज (पान नं ३०२८८७)ले आयात गरेका थिए। विक्रान्त रोडवेजमार्फत यसअघि पनि यस्तो तस्करी हुँदै आएको सशस्त्र राजस्व गस्ती डण्डापुल, भैरहवाका एक अधिकृत बताउँछन्। उनी भन्छन्, “यसअघि पनि थोरै सामानको भन्सार तिरेर धेरै सामान पास गराइएको सूचना पाउँथ्यौं, तर प्रमाण हुँदैनथ्यो। अहिले फेला पर्‍यो।”
यो घटना सेलाउन नपाउँदै २६ कात्तिक २०६५ मा कृष्णनगर नाकाहुँदै आलु लिएर बुटबल आइरहेका यूपी ५६ टी ०६०५, यूपी ४२ टी ३१७० र एचआर ३८ इ ३२४८ नम्बरका तीन वटा भारतीय ट्रकमा ३० टन बढी आलु भेटियो। भारतको कानपुर र बरेलीबाट बुटबलका लागि ल्याइएको उक्त आलुको भन्सार दस्तुर तिरिएको प्रज्ञापनपत्रमा ४२ टन उल्लेख थियो। यस्तै घटना ३० कात्तिक २०६५ मा पनि दोहोरियो। भारतबाट डिजल लिएर आएको ट्याङ्करलाई सशस्त्र राजस्व गस्ती डण्डापुलले भैरहवाको हाटबजारमा पक्राउ गर्‍यो। पक्राउ गरिएको ना१ख ३०८२ नम्बरको ट्रकमा भन्सार नतिरी ल्याइएको रु.१ लाख १२ हजार ६०५ मूल्यको सललगायतका कपडा भेटिए। त्यसअघि ट्याङ्कर करिब एक घण्टा भन्सार कार्यालयको हाताभित्र राखिएको थियो। ट्याङ्कर चालक महबुब पठानले सो कपडा भैरहवाका व्यापारी जीवन श्रेष्ठको भएको बताएका छन्।
राजस्वः लक्ष्य र असुलीको फरक
रु अर्बमा
आर्थिक वर्ष
लक्ष्य
असुली
२०६१/०६२
रु.१.७८
रु.१.९३
२०६२/०६३
रु.२.२५
रु.१.९२
२०६३/०६४
रु.२.३९
रु.२.१३
२०६४/०६५
रु.२.४८
रु.२.००
२०६५/०६६
रु.०.७४
रु.०.६८८
स्रोतः बेलहिया भन्सार कार्यालय
कात्तिकसम्म भैरहवा भन्सार कार्यालयका अधिकृत गोपाल तिमिल्सिना भन्सार हाताभित्र प्रवेश गर्ने सबै गाडीको माल खोलेर चेकजाँच गरिने बताउँछन्। यस क्रममा व्यापारीले भरेको प्रज्ञापनपत्रसँगै राखेर सो अनुसार माल छ/छैन, हेरिनेर बढी पाइएमा सामान जफत गरेर सम्बन्धित व्यापारी वा फर्मलाई तत्काल कार्वाही हुने तिमिल्सिनाको दाबी छ। उनको यो दाबी सत्य हुँदो हो त भन्सार कार्यालय भएर नेपाल भित्रिएका सामानको तस्करीका यी दृष्टान्त भेटिने थिएनन्।
भैरहवा भन्सार कार्यालयबाट यसअघि पनि परिमाण घटाएर भन्सार मूल्याङ्कन कम गराइएका उदाहरणहरू छन्। बेलहिया भन्सार कार्यालयबाट परिमाण घटाएर माल पास गराउने एजेण्ट र भन्सार कर्मचारीलाई कार्वाहीको माग गर्दै २५ मङ्सिर २०६४ को बिहान ९ बजेदेखि ११ बजेसम्म भन्सारको मूल गेटमा तालाबन्दी गरी विरोध जनाइएको थियो। त्यतिवेला यूपी ५५ ए ०५१५, यूपी ५५ टी ०४४८ र यूपी ५३ टी ६४४१ नम्बरका भारतीय ट्रकमा ल्याइएको ६० टन आलु र प्याजमध्ये १०.५ टनको मात्रै भन्सार लिएर छाडिएको थियो। छोर्तेन इन्टरप्राइजेजले ल्याएको यो सामान राधेश्याम अग्रहरिले छुटाएका थिए।
तस्करीको नयाँ रहस्य

नेपालबाट भारततर्फ गिट्टी, बालुवा लिएर जाने टि्रपरले भन्सार नतिरिकन भारतीय बजारबाट सामान सार्ने गरेका छन्। २७ कात्तिकमा लु१ख ५३२४ नम्बरको टि्रपरमा लुकाएर नेपाल ल्याएको १८० वण्डल सलको कपडा भारतीय सीमा सुरक्षा बलले बरामद गरेपछि यो कुरा खुलेको हो। नेपालबाट गिट्टी/बालुवा लिएर गएपछि भारतबाट खाली नै आउने यी टि्रपरमा चेकजाँच नहुने भएकाले पनि अवैध धन्दा गर्न सजिलो भएको हो।
सशस्त्र राजस्व गस्ती डण्डापुल, भैरहवाका प्रहरी नायव उपरीक्षक प्रेमध्वज शाह पनि यस्तो तस्करी स्वीकार्छन्। उनी भन्छन्, “एउटा गाडी चेकजाँच गर्दा सबैतिर जाम हुन्छ, कति दिन कतिलाई चेक गरेर साध्य हुन्छ र!” भैरहवा भन्सार कार्यालयका अनुसार नेपालबाट दैनिक रूपमा तीन सय भन्दा बढी गाडी बालुवा गिट्टी भारतीय बजारमा जाने गर्दछ। 

No comments: