Wednesday, November 19, 2008

A Model Communist Prime Minister

दशहजार डलरको प्रेमोपहार

३-मंसिर-२०६५,मंगलवार


सर्वहारावादी नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसारका धनाढ्यहरूले प्रयोग गर्ने महँगो बस्तु उपहारका रूपमा प्राप्त भएको छ। बेलायतको राजधानी लन्डनबाट विमानमा ल्याइएको सो उपहार प्रधानमन्त्रीनिवासका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै बालुवाटार पुर्‍याएका हुन्। 'नेपाली राजदूतावास, बेलायतबाट' लेखिएर आएको सो उपहार विश्वका महँगामध्येको 'पर्सियन कार्पेट' हो। 'मेड इन इरान' लेखिएको सो कार्पेट कसले खरिद गरेर पठायो भन्ने खुल्न सकेको छैन न त त्यसको बिल भरपाई नै साथमा आएको छ। विवरण नखुले पनि प्रधानमन्त्री प्रचण्डले सो कार्पेटलाई उपहारका रूपमा स्वीकार गर्नुभएको बालुवाटारमा खटिएका एक सरकारी अधिकारीले बताए। आजभन्दा ६ महिनाअघि अर्थात् नोभेम्बर १३ तारिखका दिन साँझ प्रमको उपहार इत्तिहाद एयरलाइन्सबाट आएको थियो। कार्गोमा आएको सो सामान भन्सार चेक–जाँच गर्ने क्रममा कर्मचारीले खोल्न खोज्दा निवासबाट खटिएका कर्मचारीले रोक लगाएका थिए। स्रोतका अनुसार कार्पेटको चौडाइ १२ फिट र लम्बाइ १५ फिट छ। 'सिल्क कार्पेट' लेखिएको सो उपहार हरियो रंगको छ। बीच–बीचमा फूलका बुट्टाहरूले भरिएको निकै आकर्षक सो कार्पेटको मूल्य भन्सारबाहेक १० हजार अमेरिकी डलर पर्ने भन्सार स्रोतले जनाएको छ। नेपालमा व्यक्तिगत प्रयोजनका लागि कार्पेट ल्याउँदा पनि महँगो भन्सार तिर्नुपर्ने नियम छ। तर, प्रम प्रचण्डका लागि आएको सिल्क कार्पेटको भन्सार मूल्यांकन नै गरिएन। प्रचण्ड सरकारको भन्सार नीतिअनुसार सरकारी सम्पत्ति र परोपकारका कामका लागि आएका सामानमा मात्र भन्सार कर लाग्दैन। त्यो पनि अर्थमन्त्रीस्तरबाट निर्णय हुनु अनिवार्य हुन्छ। प्रधानमन्त्रीका लागि आएको उपहारका लागि अर्थ मन्त्रालयले कुनै निर्णय गरेको छैन। उपहार लिन बा.१झ ५४६१ नम्बरको कालो गाडी विमानस्थल लगिएको थियो। पञ्चायतकालमा दरबारले कुनै कर नतिरी यसरी नै व्यक्तिगत प्रयोगका सामान भित्र्याउँथ्यो, बहुदलकालमा पनि सुजाताहरूका लागि यसमा कुनै कर लागेन। योक्रमले माओवादी शासनमा समेत निरन्तरता पाएको सिल्क कार्पेट उपहार प्रकरणले प्रमाणित गरेको छ। भन्सार नतिरिएकाले सो उपहार स्वतः सरकारी सम्पत्तिमा परिणत भएको मान्नुपर्छ। तर, सरकारी सम्पत्तिका रूपमा यो उपहार सामग्रीलाई कोष दाखिला गरिएको छैन। उता, माओवादी नेता र मन्त्रीको व्यक्तिगत सम्पत्ति नै हुँदैन र छैन भनी अर्थमन्त्री तथा माओवादी नेता डा. बाबुराम भट्टराईले भर्खर मात्रै स्पष्टीकरण दिनुभएको छ। उहाँको कुरा सत्य हो भने लन्डनबाट हवाईयात्रा गर्दै आइपुगेको यो उपहार राज्यको सम्पत्ति हो भनी किन कोष दाखिला गरिएन? योसँगै अर्को गम्भीर प्रश्न उठेको छ– के सर्वहारावर्गका नेताले बुझेको उपहार घुस हुँदैन?
― जनआस्था

No comments: