Tuesday, November 18, 2008

exclusive article from Dr. Baburam Bhattarai

अब नेता हुन सक्दैन कांग्रेस (Exclusive Article From Naya Patrika): डा. बाबुराम भट्टराई


राजनीतिक पार्टी सामाजिक वर्गका प्रतिनिधि हुन् । इतिहाससँगै वर्गका आवश्यकता पनि परिवर्तन हुने हुनाले वर्गहरूको विकास र विनाससँगै पार्टीहरूको पनि विकास र विनास हुन्छ । नेपाली कांग्रेसको साठी वर्षको इतिहास, आरोह र अवरोहमा पनि यही सिद्धान्त लागू हुन्छ ।काँग्रेस स्थापनाकालदेखि नै मूलतः उदार सामन्त र दलाल पुँजीपतिको प्रतिनिधि हो । सात सालमा जब किसान, मजदुर र निम्नवर्ग जागिसकेको थिएन, त्यो वर्ग तुलनात्मक प्रगतिशील थियो । पछि पनि निरंकुश राजतन्त्रविरोधी आन्दोलनमा मात्रात्मक परिवर्तनका हिसाबले कांग्रेसको भूमिका सकारात्मक थियो । राणाशासनको अन्त्यतिर सी-क्लासका राणा र कोइराला परिवारलाई केन्द्रमा राखेर त्यो वर्गले खेलेको भूमिका मात्रात्मक प्रगतिशील थियो । तर, नेपालजस्तो अर्धऔपनिवेशिक र अर्धसामन्ती समाजमा उदार सामन्त वर्गले निणर्ायक परिवर्तनको नेतृत्व गर्ने वा गर्न सक्ने कुनै सम्भावना थिएन । यही बिन्दू कांग्रेसको सबैभन्दा ठूलो कमजोरी थियो ।सुरुमा उदार सामन्तको पार्टी कांग्रेसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन पाए पनि त्यसैबेलादेखि कम्युनिस्ट आन्दोलनको समेत समानान्तर विकास हुँदै थियो । ०४७ सम्म आइपुग्दा कांग्रेस र कम्युनिस्ट झन्डै बराबरी भइसकेका थिए । ०४६ को परिवर्तनपछि केही समय कांग्रेसले सरकारको नेतृत्व पनि गर्यो तर आफ्नो वर्गचरित्रका कारण पनि उसले सार्थक परिवर्तन गर्न सकेन । यसबीचमा माओवादी जनयुद्धले वास्तविक लोकतन्त्र अर्थात् राजनीतिकसँगै सामाजिक-आर्थिक लोकतन्त्रको पक्षमा उभार सिर्जना गर्यो । ०६२/६३ को जनआन्दोलनसम्म आइपुग्दा कम्युनिस्टहरू कांग्रंेसभन्दा बढी शक्तिशाली भए । निश्चय नै १९ दिने जनआन्दोलनपछि पनि औपचारिक नेतृत्व कांग्रेसकै रह्यो तर यसपटक फरक के थियो भने नयाँ सरकारको व्यावहारिक र वैचारिक नेतृत्व कम्युनिस्टको थियो । त्यही सरकारले संविधानसभाको चुनाव गरायो, जसमा मूलतः माओवादी क्रान्तिकारीले नेतृत्वमा कम्युनिस्टहरू झन्डै दुईतिहाइ बहुमतमा आए ।नेपाली समाज अग्रगामी परिवर्तनको निणर्ायक बिन्दूमा छ तर वैचारिक रूपमा कांग्रेस अझै पनि यथास्थितिवादी शक्ति नै रहिरहेको छ । समाज र कांग्रेसबीचको यो अन्तरविरोध कांग्रेसका नेताहरूले बुझ्न सकेका छैनन् । नयाँ प्रगतिशील शक्तिहरू अगाडि आइसकेको र आमूल परिवर्तनको प्रक्रियाको लगाम उनीहरूले नै थामिसकेको अवस्थामा कांगं्रेसको भूमिका नेतृत्वदायी हुनै सक्दैन, केवल सहयोगी मात्र हुन सक्छ । तर, कांग्रेस नेतृत्व अतीतजीवी छ । हिङ नभए पनि पनि हिङ बाँधेको टालोका रूपमा ऊ अझै पनि नेतृत्वदायी भूमिका चाहन्छ । तर, अग्रगामी परिवर्तनको नेतृत्व गर्ने वर्गीय, वैचारिक र नैतिक पुँजी ऊसँग छैन । अहिले नेपाली कांग्रेस र परिवर्तनकामी शक्तिहरूबीच देखिएको अन्तरविरोधको मूल कारण यही हो ।हामी चाहन्छौं, कांग्रेसले संविधानसभा निर्वाचनमा व्यक्त जनादेशलाई स्वीकार गरोस् र मुलुकको अग्रगामी परिवर्तनमा साथ र सहयोग देओस् । लोकतन्त्रलाई संस्थागत गर्न अहिले सम्भव भएसम्म सर्वपक्षीय सहयोग र सद्भाव जरुरी छ । तर, कांग्रेस अग्रगामी शक्तिलाई समर्थन गर्नुको साटो सरकारबाहिर बसेर अग्रगामी सरकार र संविधान निर्माणको विरोधमा लागिरहेको छ । यसले अन्ततः पश्चगामी सोच र प्रवृत्तिलाई नै बल पुगिरहेको छ । नेपाली समाजका आकांक्षाविरुद्ध कांग्रेसको यो पश्चगामी प्रवृत्तिले उसलाई नेपाली जनताबाट अझ धेरै अलग्याउने निश्चित छ ।कांग्रेसभित्र निम्न पुँजीपति वर्गको पनि ठूलो हिस्सा छ । कांग्रेसभित्रका इमानदारपंक्तिले अब देशभक्त र प्रगतिशील पक्षसँग र सहकार्यको बाटो रोज्नुपर्छ । नयाँ जनमुखी संविधान निर्माण भएर सार्थक परिवर्तनसहितको दिगो शान्ति कायम नभएसम्म त्यो कांग्रेसको दायित्व पनि हो । नेपालको बहुजातीय र बहुवर्गीय समाजमा वर्गीय आधार र ऐतिहासिक कारणले कांग्रेसले केही वर्ग र तप्काको अझै पनि प्रतिनिधित्व गर्छ । तर अहिले ऊ सामन्तवादको कोणबाट थोरै विरोधी त देखिन्छ तर पुँजीवादमा पनि दलाल नोकरशाही पुँजीवादको पक्षपोषण गरिरहेको छ । यस्तो अवस्थामा कम्युनिस्टहरूले कांग्रेससँग एकता, संघर्ष र रूपान्तरणको बाटो रोज्नुको विकल्प रहन्न ।बुर्जुवा संसदीय लोकतन्त्रको पक्षधर भएकाले कांग्रेसले कम्तीमा पुँजीवादी लोकतन्त्र लागू गर्ने हदसम्म भूमिका निर्वाह गर्न सक्नुपर्ने हो तर वेष्टमिनिस्टर शैलीको संसदीय व्यवस्थाले मात्र नेपाली समाजका आकांक्षा पूर्ति गर्न सक्दैन भन्ने प्रमाणित यथार्थलाई कांग्रेसले अझै आत्मसात गर्न सकेको छैन । आर्थिक-सामाजिक रूपान्तरणका क्षेत्रमा त कांग्रेसको मानसिकता झन् धेरै पिछडिएको छ । ऊ अझै पनि सामन्तवादी भूमिसम्बन्ध तथा दलाल-नोकरशाही पराश्रति पुँजीवादको समर्थक छ । यसले समाजको तात्त्विक परिवर्तन गर्न सक्दैन । राष्ट्रियता कांग्रेसको सबैभन्दा कमजोर कडी हो । विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीको साथ नलिई केही हुन्न भन्ने उसको मानसिकताले असमान र अपमानजनक सन्धि-सम्झौताहरूलाई वैधता दिलाइरहेको छ ।सारमा, लोकतन्त्रको क्षेत्रमा कांग्रेससँग सहकार्यको सम्भावना रहन्छ भने आर्थिक-सामाजिक परिवर्तन र राष्ट्रियताका क्ष्ाेत्रमा संघर्षको । यी क्षेत्रमा कांग्रेसले आफूलाई कति जवाफदेही र जनमुखी बनाउँछ, त्यसैले आगामी दिनमा कांग्रेस र जनता, सँगसँगै कांग्रेस र परिवर्तनकारी शक्तिहरूबीचको सम्बन्ध निर्धारण गर्नेछ

1 comment:

Anonymous said...

नेपाली कांग्रेसलाई प्रमुख शत्रु ठान्ने माओवादी पार्टीका बरिश्ठ नेताले त्यती पनि नभने त तिनका आफ्नै कार्यकर्ताले मार्छन नि । नेपाली कांग्रेसको कार्यशैलीमा टिप्पण्डी गर्नु त्यती आपती हैन तर पार्टिको सैदान्तिक हिसाबमै आउट डेटड भयोभन्नु चांही कम्युनिज्मको चस्माले हेरे शिवय अरु हुन सक्दैन ।