डा. सुरेन्द्रराज देवकोटा
2008-11-26,Wednesday
तीन दशकयता नेपाली कांग्रेसमा सक्रिय योगदान पुर्याई, एउटा अग्रज बुद्धिजीवीका रूपमा स्थापित प्रा. कृष्ण खनालले गत महिना नेपाली कांग्रेसको साधारण सदस्यताबाट समेत राजीनामा दिनुभयो । यस घटनालाई लिएर बजारमा नेपाली कांग्रेसमाथि थुप्रै टीकाटिप्पणी र आलोचना भए । व्यक्तिगत एवं संस्थागत लाभ-हानिका आक्रोशयुक्त टीकाटिप्पणी पनि पढ्ने र सुन्ने मौका मिल्यो । तर, मूल प्रश्न कृष्ण खनालजस्ता व्यक्तित्वहरू किन नेपाली कांग्रेसमा अटाउन सक्दैनन् भन्ने नै हो । प्रा. कृष्ण खनालको व्यक्तित्व बहुआयामिक छ । सारांशमा उहाँ ०३६ सालदेखि जनआन्दोलन- १ र २ सम्म निरन्तर र सक्रिय रूपमा सहभागी हुँदै, सशक्त नेतृत्व प्रदान गर्दै आउनुभएका व्यक्तित्व हुनुहुन्छ । त्यति मात्र नभई उहाँ समग्र नेपालको वर्तमान राजनीतिक सोच गणतन्त्र, संविधानसभा र संघीयताका बारेमा विस्तृत विश्लेषण गरी आमजनतालाई सुसूचित गराउने बौद्धिक पुँजीसमेत हुनुहुन्छ । उहाँले नेपाली कांग्रेस छाड्दा भन्दा पनि नेपाली कांग्रेसले त्यस्ता व्यक्तित्वहरू गुमाउँदा हुने नोक्सानी धेरै हुन सक्छ । कुनै पनि पार्टीबाट बौद्धिक पुजी ह्रास हुनु पार्टीविशेषको मात्र नभई मुलुककै लागि अहितकर हुन सक्छ । संविधान बनाउने क्रममा कृष्ण खनालजस्ता संविधानसभासम्बन्धी अग्रज सोच राख्ने विद्वान्हरू दमननाथ ढुंगाना, हरिहर विरही, हरिहर दाहाल, कृष्ण पहाडीहरू पनि अग्रपंक्तिमा पर्न नसक्नु स्वयंमा दुःखलाग्दो पक्ष हो । नेपाली कांग्रेसले संविधानसभालाई परम्परावादी संसदीय प्रणालीभन्दा फरक दृष्टिले हेर्नुपर्ने थियो, तर त्यस्तो हुन सकेन । इतिहासलाई नगदीकरण गरिसकेको कांग्रेस देशको भविष्यको खाका कोर्ने अमूल्य समयमा पछाडि परेको छ । यसका पछाडि विविध कारण होलान्, तर सबैभन्दा खड्किँदो पक्ष नेकाले आफ्नो आङको भंैसी देख्दैन, तर अरूको आङको जुम्रा खोज्न पुग्छ भन्ने नै हो । त्यसैले आज नेपाली कांग्रेसभित्र र बाहिर भिन्दाभिन्दै सोच क्रियाशील भइरहेका छन् । उदाहरणका लागि कांग्रेसभित्रबाट नै यसलाई शुद्धीकरण एवं सशक्तीकरण गर्ने अभियान एउटा पक्ष हो भने अर्को पक्ष बाहिरबाट नै कांग्रेसको विकल्प खोज्नुपर्ने विज्ञहरू प्रशस्तै भेटिन्छन् । सायद भविष्यमा यो सम्भावना असम्भव पनि नहोला, तर जबसम्म कांग्रेसको रूख सुक्दैन, तबसम्म वैकल्पिक प्रजातान्त्रिक पार्टीको अवतरण निकै असहज विषय बन्नेछ । यद्यपि, मुलुकभित्र संघीयताका नाउँमा प्रशस्तै राज्य-रजौटा बन्न पुगे भने नेपाली कांग्रेसलगायत सबैखाले मुख्य-मुख्य पार्टीको अस्तित्व संकटमा पर्ने सम्भावना अवश्य मुखरित हुनेछ । नेपाली कांग्रेसलाई पुनर्जीवन दिने सबैभन्दा पहिलो औषधि यसको सांगठनिक गतिशीलता हो । किनभने, कांग्रेसको सांगठनिक अस्थिपञ्जर धेरै मक्किइसकेको छ र यो क्रम जारी रहे निकट भविष्यमै यो उठ्नै नसक्नेगरी थला पर्न पनि सक्छ । सायद त्यसको पूर्वानुभूति नेका नेतृत्वको केही पक्षले पाइसकेको हुनाले सबैभन्दा पछिल्लो केन्द्रीय समितिको बैठकले आगामी भदौभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । सो अधिवेशनका लागि यावत् सांगठनिक संयन्त्रहरू कसरी परिचालित हुन्छन्, हेर्न बाँकी नै छ । किनभने, विगतमा काठमाडौं बसेर अमूक जिल्ला समिति गठन गर्नेदेखि प्रतिनिधि छान्नेसम्मका काम गरेकाले नै कांग्रेसको वास्तविक संगठन कमजोर भएको हो । त्यति मात्र होइन, सक्रिय सदस्यहरूको नामसमेत कम्प्युटरबाट हटाइएका थुप्रै भुक्तभोगी कांग्रेसमा छन् । यस्तो प्रक्रिया पुनः दोहोरिन पुग्यो भने आगामी अधिवेशनपछि कांग्रेस झन् थला पर्न सक्छ । संगठन दर्बिलो बनाउने प्रक्रिया त्रुटिपूर्ण भएपछि सही नेतृत्वको अपेक्षा गर्नु बेकार हुनेछ । अहिले कांग्रेस सशक्तीकरणको हल्ला पार्टीपंक्तिबाटै चलाइएको छ । नयाँ पहलका रूपमा पार्टीलाई 'सामूहिक नेतृत्व' मा लैजाने भनिएको छ । वास्तवमा सामूहिक नेतृत्व या त गैरसरकारी संस्थामा प्रयोग गरिने भाषा हो, अथवा गैरलोकतान्त्रिक प्रणालीहरूमा उपयोग गरिने माध्यम हो । २१सौँ शताब्दीमा यसको प्रयोग उत्तर कोरियादेखि बर्मासम्म भइसकेका छन् । हिजो पार्टी प्रतिबन्धित अवस्थामा रहँदा यसको खास आवश्यकता र महत्त्व थियो, तर आज हिजोको अवस्था कायम छैन । अहिले त भविष्यलाई बेलैमा बुझ्न सक्ने नेतृत्वको विकास हुन जरुरी छ । कुशाग्र नेतृत्वको विकास पार्टीभित्र नीतिगत बहस र चुनावबाट मात्र सम्भव हुन्छ । यदि कुनै पनि नेता कुनै पनि स्तरको चुनावबाट पछि हट्छ भने त्यसमा आत्मविश्वास र जनविश्वासको अभाव रहेको प्रस्ट हुन्छ, जसले कुनै पनि किसिमको राजनीतिक समस्या सम्बोधन गर्न सक्दैन । तसर्थ, नेकाले अझै पनि सामूहिक नेतृत्वको वकालत गर्नु नेता हुन खोज्नेहरूले आफूमाथि अविश्वास एवं कार्यकर्ताप्रति अनुत्तरदायी बन्ने ढोंग हो । कुनै पनि संगठनलाई सशक्त बनाउने प्रक्रिया त्यसको नीति र कार्यक्रममा निर्भर हुन्छ । नीति र कार्यक्रम नेतृत्वतहबाट ल्याइनुपर्छ । नेतृत्वको विकास आन्तरिक प्रतिस्पर्धाबाट मात्र सम्भव हुन्छ । सिद्धान्ततः नेपाली कांग्रेसको विधान अत्यन्त लोकतान्त्रिक हुँदाहँुदै पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई अंगीकार गर्न कांग्रेसीजनलाई गाह्रो छ । त्यसैले अधिकांश समयमा टीके प्रथा अपनाइएको ज्वलन्त अभ्यासबाट आमकांग्रेसी नेतृत्व र मतदाता अनभिज्ञ छैनन् । वास्तवमा आजको कांग्रेसको विग्रहको स्थिति त्यही टीके प्रथाको उपज हो । गाउँ, जिल्ला, केन्द्र र अधिकांश भ्रातृ संगठन एवं शुभेच्छु संघसंस्थामा कांग्रेसी टीके प्रथाले लोकतान्त्रिक पाटोको आदर्शलाई खिल्ली मात्रै उडाएको छैन, आममतदाता र शुभेच्छुहरूसमेत कांग्रेसी चर्तिकलाबाट दिक्क छन्, कांग्रेसदेखि नै बिस्तारै टाढिन थालिसकेका छन् । संविधानसभाको चुनावी नतिजाले कांग्रेसलाई सिकाएको यो एउटा गतिलो पाठ थियो । नेपाली कांग्रेसलाई दर्बिलो बनाउन पार्टीका हरेक तहमा आन्तरिक चुनाव गरी नयाँ नेतृत्व विकास गर्न जरुरी छ । हरेक तहमा नीतिगत बहस र कार्यक्रम छनोट एवं कार्यान्वयन जरुरी छ । आफ्नो आधारक्षेत्र अर्थात् सदस्यतासम्बन्धी परम्परावादी सोचबाट कांग्रेस मुक्त हुन जरुरी छ । पार्टी सदस्यतामा 'साधारण' र 'सक्रिय' भन्ने अवधारणाको विकल्प खोजेर एकल सदस्यताको बाटो लिनु वाञ्छनीय छ जसले पार्टीको सांगठनिक दायरा फराकिलो बनाउन सकोस् । लोकतन्त्रमा विश्वास राख्ने व्यक्ति र पार्टीलाई आन्तरिक चुनावले मात्र जीवन्त राख्छ भन्ने बुझेर कांगे्रसले बाटो तय गर्न जरुरी छ ।
Wednesday, November 26, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment