Wednesday, November 5, 2008

एक सातादेखि अस्पतालमा लडेकी मजदुरमहिलाले पैसा नभएर उपचार पाइनन्

नयाँ पत्रिकाकाठमाडौं, १८ कात्तिक2008-11-04,Tuesday
सरकार जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने गफ गर्छ । तर, वीर अस्पतालको आकस्मिक कक्षमा एक महिला सामान्य उपचार पनि नपाएर एक सातादेखि बेहोस अवस्थामा लडिरहेकी छिन् । पैसा जुटाउन नसकेकाले अस्पतालले भर्ना लिन नमानेपछि सप्तरीकी लक्ष्मी साहको जीवन संकटमा परेको छ । एक साताअगाडि नै ल्याइएकी उनलाई उपचारको साटो अस्पताल प्रशासनले त्यहाँबाट निस्किन दबाब दिइरहेको छ । पैसा जम्मा नगरी भर्ना लिन अस्पताल तयार छैन । लक्ष्मीका श्रीमान् राजकुमारले आफ्नी श्रीमतीको ज्यान जोगाइदिन कसैसित हारगुहार गर्न बाँकी राखेका छैनन् । त्यहाँ वरिपरि डुल्ने डाक्टर मात्र होइन, कूचीकार र गार्डलाई पनि हात जोड्दै बिन्तीभाउ गर्छन् 'मेरी श्रीमतीलाई बचाइदिनुपर्‍यो' भन्दै । 'के भयो भनेर सोध्नसम्म कुनै डाक्टर आएनन्,' राजकुमारले नयाँ पत्रिकासित भने, 'उल्टो भर्ना गर्ने पैसा नभए यहाँबाट निस्केर जा भनेर कराइरहेका छन् ।' राजकुमार घर बनाउने मिस्त्री हुन् भने लक्ष्मी ज्यामी काम गर्थिन् । गत जेठमा बालाजुमा बन्दै गरेको घरको दोस्रो तलाबाट खसेर लक्ष्मी गम्भीर घाइते भएकी थिइन् । उनको मेरुदण्ड भाँच्चिएको थियो । वीरमा तीन महिना राखेर उपचार गरेपछि घर फर्केकी उनी लक्ष्मीपूजाको दिन पीडा बल्झेपछि पुनः अस्पताल ल्याइएकी हुन् । अस्पताल ल्याएदेखि नै केही नखाएकीले बेहोस भएको राजकुमारले बताए । इमर्जेन्सी कक्षमै भए पनि डाक्टरले झुक्किएर पनि लक्ष्मीलाई हेरेका छैनन् । उनको शरीरमा झिंगा भन्किरहेका छन् । ओच्छ्यानमै दिसापिसाब बगिरहेको छ । बाबु र दुई साना छोरीहरू बिरामी कुर्न चिसो भूइँमा पालो गरेर बस्छन् । 'मेरो त जहाजै डुब्ने भयो, लौन तपाईंले भर्ना गराइदिनुपर्‍यो,' सोमबार वीर अस्पतालको इमर्जेन्सी छिरेका अन्य बिरामीका आफन्तसँग राजकुमार भन्दै थिए, 'डाक्टरलाई सोध्यो, अन्तै लगेर उपचार गरा, नत्र मर्छे भन्छन् ।' श्रीमती लडेदेखि नै काममा जान नपाएको र भएको पैसा पहिल्यै उपचार गर्दा सकिएको उनले नयाँ पत्रिकासित बताए । 'छोरीलाई खाना खुवाउने पैसा पनि छैन,' उनले भने, 'आज १० रुपैयाँको भुजा किनेर खान दिएको छु, भरेबाट त त्यो दिने पैसा पनि छैन ।' वीर अस्पतालका निर्देशक श्रवणकुमार चौधरीले भने आफूलाई यो जानकारी नभएको बताए । 'मलाई कसैले पनि जानकारी गराएका छैनन्, इमर्जेन्सी इन्चार्जले पनि केही भनेका छैनन्,' चौधरीले भने । अन्यत्र उपचार नपाएका बिरामीलाई पनि वीर अस्पतालले निःशुल्क उपचार गर्ने गरेको चौधरीको भनाइ थियो । 'वीर अस्पतालबाट उपचार नै नपाई अहिलेसम्म कोही पनि फर्केका छैनन्, त्यो बिरामी मकहाँ आउनुपर्ने,' उनले भने ।

No comments: