Friday, October 31, 2008

अर्थतन्त्र उकास्न जापानी प्रधानमन्त्रीको नयां प्याकेज

जापानका प्रधानमन्त्रीले देशको धर्ममराउंदो अर्थतन्त्रलाई बल प्रदान गर्न २७० अर्ब डलर भन्दा बढीको एउटा आर्थिक प्याकेजको घोषणा गरेका छन्।
ती उपायहरूमा नागरिकहरूलाई करमा अस्थायी छुटदेखि लिएर साना उद्यमीहरूलाई राहतका प्रावधानहरू समेत छन्।
प्रधानमन्त्री तारो आसोले विश्वव्यापी आर्थिक संकटलाई "शताब्दीमा एक पटक" हुने घटनाको संज्ञा दिएका छन्।
प्रत्यक्ष टेलिभिजन प्रसारणमा बोल्दै प्रधानमन्त्री आसोले कहिले राजनीतिज्ञ त कहिले मौसमविद्ले प्रयोग गर्ने जस्ता शब्दावलीहरू प्रयोग गरेका थिए।
उनले आर्थिक संकटको "हावाहुरी"मा मानिसहरूलाई "ओत" उपलब्ध गर्न आफूले नयां आर्थिक प्याकेज ल्याएको बताए।
उनले जापानी जनता आहिलेको "भिषण आंधी"बाट विचलित हुन नहुने र "चक्रवात"मा फंस्न पनि नहुनेमा जोड दिए।
सहुलियत
उनले घर कर्जामा थप कर सहुलियत, साना उद्यमहरूलाई सहयोगका साथै सडक दस्तुरहरूमा कटौती जस्ता अर्थतन्त्रलाई माथि उठाउन सक्ने विभिन्न उपायहरूको घोषणा गरेका छन्।
नयां प्याकेज २७० अर्ब डलर भन्दा पनि बढीको छ जस्मा ५० अर्बको नयां सरकारी खर्च पनि समावेश छ।
जापानमा पहिले नै सार्वजनिक ऋणको मात्रा ज्यादा छ तर सरकारले नयां प्याकेजका लागि रकम जुटाउन उस्ले थप कर्जा लिन आवश्यक नभएको बताएको छ।
तर सरकारका आलोचकहरू भन्छन् सरकारको नयां खर्च योजना, आम निर्वाचनअघि मतदाताहरूलाई आकर्षित गर्ने सरकारले दिन लागेको, उनीहरूकै शब्दमा, एक प्रकारको घुस भन्दा अरूथोक केही होइन।
तर प्रधानमन्त्री आसोले त्यस्तो निर्वाचनका लागि अझै केही समय लाग्ने संकेत दिएको जस्तो देखिन्थ्यो।
उनले भने, "जनताको ध्यानको केन्द्रमा अहिले अर्थतन्त्र छ, राजनीति होइन।"
Source:bbc.co.uk/nepali

No comments: